एशिएन कंक्रिटो प्रालिलाई नेपाल गुणस्तर प्रमाण चिन्ह

29/09/2078

भैरहवा– भैरहवा–परासी औद्योगिक करिडोर अन्तर्गत रहेको एशिएन कंक्रिटो प्रालिले मुलुकमा पहिलो पटक नेपाल गुणस्तर प्रमाण चिन्ह प्राप्त गरेको छ । मुलुकमा पहिलो पटक जर्मनको विश्वप्रसिद्ध प्लान्ट मार्फत कंक्रिटका निर्माण सामाग्री उत्पादन गरिरहेको उद्योगले गुणस्तर प्रमाण चिन्ह प्राप्त गरेको जनाएको छ । मुलुकमा कंक्रिट जन्य निर्माण सामाग्री उत्पादन गर्ने कम्पनी मध्ये यस्तो गुणस्तर चिन्ह प्राप्त गर्ने एसियन कंक्रिटो प्रालि पहिलो भएको यसका सञ्चालक मनिष रुंगटाले जनाए । कम्पनीले प्राप्त गरेको सफलताबारे बिहीबार साँझ भैरहवास्थित एक होटलमा पत्रकार सम्मेलन आयोजना गरेर जानकारी गराउने भएको छ । उक्त पत्रकार सम्मेलनमा कम्पनीले राम्रो बजार ओगटेका क्षेत्र चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र पाल्पाका सञ्चारकर्मीलाई निम्त्याइएको छ । गुणस्तरीय सामाग्री उत्पादन गरेर छिमेकी भारतमा निर्यात लक्ष्य लिएको कम्पनीले कोरोना महामारीका कारण बजार बिस्तारमा बाधा पुगेको जनाएको छ । यस्तो प्रतिकुल अवस्थामा पनि कम्पनीका उत्पादनलाई मुलुकभर रुचाइएको लगानीकर्ताले जनाएका छन् । नवलपरासीको रामग्राम नगरपालिका–१६, हकुईमा २ अर्ब लगानीमा एशियन कंक्रिट उद्योग प्रालि संचालनमा ल्याइएको थियो । रोबटको प्रयोग गरिएको उक्त उद्योग पूर्णरुपमा जर्मनीको मासा कम्पनीको प्लान्ट हो । दैनिक ५ सय टन अर्थात् तीन किलोमीटर सडकलाई पुग्ने ब्लक उत्पादन क्षमता रहेको उद्योगले पेभर, ब्लक, स्लाव, कर्व स्टोन, इँट्टा र टायल उत्पादन गर्छ । राम्रो गुणस्तर हुने एकाले यी उत्पादन सडक, आगन, पुल, प्रांगण, वेयर हाउस, मिल, सपिङ मल, व्यापारिक भवनहरु, होटल रिसोर्ट तथा पार्किङस्थल बनाउन प्रयोग गर्न सकिने उद्योगका संचालक रुंगटाले बताए । नेपालमा हालसम्म उत्पादन हुने ब्लकहरु एम १०, एम १५ तथा एम २० मात्रै छन् । तर, यो उद्योगले उत्पादन गर्ने ब्लक न्यूनतम एम ३५ भन्दा बढी हुन्छ । जुन ठूला आयोजनामा पनि प्रयोग गर्न सकिन्छ । संचालकका अनुसार प्लान्टको उत्पादन, गुणस्तर तथा सम्पूर्ण इकाई जर्मनबाट नै निगरानी हुन्छ । यस्तै उद्योगमा लाग्ने सम्पूर्ण कच्चा पदार्थहरुको आधुनिक ल्यावमा टेष्ट जमर्नीबाट स्वीकृत गराएर मात्रै प्रयोग गरिन्छ । संचालकका अनुसार उद्योगका लागि आवश्यक ९० प्रतिशतभन्दा बढी कच्चा पदार्थ स्वदेशमै उपलब्ध छ । बाँकी १० प्रतिशत मात्रै बाह्य मुलुकबाट आयात गर्नुपर्छ ।
ORIGINAL ARTICLE (PUBLIC KURA)